विवाहको नाममा बर्बादी
क्रान्तिकारी देखिन, परम्परा भत्काउन र युवा कार्यकर्र्ता अड्याउन द्वन्द्वकालमा माओवादीले प्राथमिकता दिएको 'जनवादी विवाह' शान्ति आएपछि महिला हिंसाको पर्याय बनेको छ।
अरुणा रायमाझी लक्ष्मण के.सी. माओवादी लडाकूका बटालियन कमाण्डर लोकेन्द्र डाँगीले त्यागेकी सेक्सन कमाण्डर खिमा डाँगी छोरीका साथ। |
गजुरेल परिवारमा मात्र होइन, सिङ्गो एमाओवादीमै अहिले महिलाको भावनासँग खेलेर रछ्यानमा फाल्ने प्रवृत्तिले प्रश्रय पाएको छ। किशोरीहरूलाई विभिन्न सपना देखाई विवाहको नाटक रच्ने र जायजन्मपछि त्यागेर अर्को घरजम गर्ने व्यभिचारीहरू पार्टीमा प्रशस्त छन्। यसरी दायित्वबाट पन्छिन पाउँदा उनीहरूलाई हाइसन्चो भयो होला, तर सहाराविहीन परिवार र तिनको पीडा थेग्न समाजलाई गाह्रो भइरहेको छ। पारपाचुकेको अस्त्र चलाएर एक झ्ट्कामा परिवार फुटाउने कामरेडहरूप्रति एमाओवादी लचिलो बनेको पोल पार्टीमा सुनुवाई नभएका उजुरीहरूको चाङले खोल्दछ।
सुरुआत पार्टीमूलीबाटै
छोडपत्र गर्नुअघि तिनै छोरीका साथ लोकेन्द्र । |
प्रभा बोगटीको अनुभवमा, माओवादीमा लागेका प्रायः किशोरीहरू पारिवारिक स्नेहबाट टाढा आन्दोलनको कठोर परिवेशमा रहेका बेला कोही आफ्नो बन्न आउँदा परिपक्व निर्णय लिन नसक्ने अवस्थामा थिए। त्यसैले कसैले आत्मीयता देखाउँदा नजिक बन्थे र त्यसलाई पार्टीबाट वैधानिक बनाउन विवाह गरिहाल्नुपर्ने बाध्यता हुन्थ्यो। त्यसबेला पार्टीको काम र सुरक्षाका कारण महिनौं टाढा बस्नुपर्दा पनि सम्बन्धहरू प्रेम र विश्वासमा टिकेका हुन्थे। तर, पार्टी खुल्ला भएपछि जोडीहरूले एकअर्काका आनीबानी र चरित्र थाहा पाउन थाले। लालाबालाले घेरिएर समाजमा फर्केका पत्नीले पतिका स्वार्थी र गैर-जिम्मवार चरित्र झ्ेल्नुपर्यो; कठोर जातीय, आर्थिक र क्षेत्रीय यथार्थहरूको सामना गर्नुपर्यो। प्रभा भन्छिन्, “यी सबले मनमुटाव शुरु हुन्छ र छुट्टिनुपर्ने स्थितिसम्म आउँछ।”
वाम राजनीतिज्ञ तथा लेखक मोदनाथ प्रश्रित माओवादीका अन्य गतिविधि जस्तै जनवादी विवाह पनि सुविचारित कदम नभएकाले जुन गतिमा प्रश्रय दिइएको थियो त्योभन्दा वेगले विघटनतिर गएको बताउँछन्। परिणाम, आज धेरैजसो माओवादी महिला न्यायका लागि अदालत गुहार्न समेत सक्दैनन्। अधिवक्ता अन्जिता खनालका अनुसार पार्टीको स्वीकृतिमा भएका विवाहलाई प्रचलित कानुनले मान्यता नदिने हुँदा श्रीमानले एकतर्फी रूपमा विवाह खारेज गरिदिएपछि अदालत पुगेका महिलाहरूले प्रमाणको अभावमा मुद्दा दर्ता गराउन सकेका छैनन्।
अपवादका रूपमा पार्टीले गरेका एकाध कारबाहीमा पनि पीडितहरूले न्याय पाएका छैनन्। पार्टीमा निवेदन हालेर पहिलो विवाह गरेका दाङ जिल्ला कमिटी सदस्यद्वय हेमराज घर्तीमगर र नेपबहादुर बस्नेतलाई दुई-दुई वटा बच्चा भएपछि अर्को विवाह गरेकोमा पार्टीले निष्कासन गर्यो, तर उनीहरूले विचल्लीमा पारेका चार महिला र पाँच बालबालिकाको अवस्था यथावत् छ। दोस्रो विवाहबाट पनि एक छोरा पाएका घर्तीमगर अहिले सबैलाई दाङमा छाडेर काठमाडौं बसेका छन्।
पार्टीमा शुरु भएको परिवार विघटनले अध्यक्ष पुत्र प्रकाश दाहालको दोस्रो विवाहबाट अघोषित मान्यता पाएकाले बहुविवाहको कारबाहीमा पर्नुपर्ने नेता-कार्यकर्ता ढुक्क र पीडितहरू निरुत्साहित भए। जनमुक्ति सेनाकी कम्पनी कमाण्डर बदला (पीडित आफ्नो वास्तविक नाम खुलाउन चाहन्नन्) आफ्नो स्वार्थ पूरा भएपछि परिवार छाड्ने कामरेडहरूलाई अध्यक्षको भाषणले चोख्याएको बताउँछिन्। पार्टीले लमजुङका रामचन्द्र पौडेलसँग जनवादी विवाह गराइदिएको सम्झँदै यी दलित समुदायकी युवती भन्छिन्, “रामचन्द्रले अर्को विवाह गरेको सुनेर स्तब्ध हुँदै फोन गर्दा म त आफ्नै जातमा फर्किएँ नि भनेका थिए। अध्यक्षको भाषणले उनको यस्तो निकृष्ट जवाफलाई पनि चोख्याइदियो।”
माओवादीमा श्रीमती फेर्न आफ्नै जातमा फर्किने कमाण्डरहरू मात्र छैनन्, पैसाका लागि पत्नीलाई यातना दिने डाक्टरहरू पनि छन् (हे.११ जेठ २०६७ मा क्षेत्रीय सदस्य देवी शाहले पार्टीको स्वास्थ्यकर्मी संघका सदस्य डा. ज्ञानेन्द्र शाह विरुद्ध महिला संघमा दर्ता गरेको निवेदन)।
फन्दामा महिला
|
घरपरिवारको बेवास्ता र नाजायज सम्बन्धहरूको शृङ्खला पार्टी शहरकेन्द्रित भएर कामरेडहरू पैसा र भोगविलासमा लहसिएपछि शुरु भएको हो। कतिपय महिलाले पतिको एकोहोरो दबाब र स्वार्थीपनबाट उत्पन्न आवेगमा छोडपत्रमा सही गरिदिए। उनीहरू गला अवरुद्ध पार्दै विचार एउटै भए पनि भावना नमिलेपछि अलग हुनुपरेको बताउँछन्। छोडपत्रमा सही नगर्नेहरू पनि एक्लिएका छन्। उनीहरू आफ्ना कथा-व्यथा फरर बताउँछन्, तर सार्वजनिक हुन मान्दैनन्। उनीहरूमा कम्तीमा छोराछोरीलाई हेरेर पतिको मन पग्लिन्छ कि भन्ने आशाको त्यान्द्रो अझै बाँकी देखिन्छ।
आँखाभरि आँसु लिएर मनभरि पतिको भलो चिताउनेहरू पनि छन्― जस्तो, २०५४ सालमा १७ वर्षकी छँदा १९ वर्षीय टङ्क क्षेत्रीसँग प्रेम विवाह गरेकी गुल्मी विशुखर्क-३ वलिवाङकी सुमित्रा सापकोटा (हे. छेउको तस्बिर)। जात नमिलेको भन्दै सिङ्गो गाउँ छुटाउन लाग्दा पनि टङ्कलाई पछ्याउँदै भूमिगत भएकी सुमित्राकी छोरी लक्ष्मी कक्षा ८ मा पढ्छिन्, तीन वर्षको छोरो छ। छोरो गर्भमै छँदा संविधानसभा निर्वाचनको प्रचारमा खटेका बेला टङ्कले पारपाचुकेको दबाब दिँदै कुटपिट गर्न थाले। यो कुरा पार्टीले थाहा नपास् भनेर श्रीमानलाई सम्झाउँदा-सम्झाउँदै टङ्कले शिक्षिका सावित्रा थापासँग बिहे गरे। पार्टीको गुल्मी सचिवालय सदस्य र एरिया इन्चार्ज सुमित्राले पुरानो प्रेम सम्झ्ेर कतै उजुरी गरिनन्। भन्छिन्, “मैले जति दुःख पाए पनि उसैलाई माया गरिरहन्छु।”
माओवादी पार्टीले विवाहपछि दुईमध्ये एकलाई वैवाहिक सम्बन्धबाट सन्तुष्टि नमिले मार्क्सवादी पद्धतिअनुसार छोड्न पाइने नियम बनाएर घरजमको स्वीकृति र निर्देशन दिने गरेको थियो। जनवादी विवाहको नाममा चलाइएको यो फेसन अहिले महिलाका लागि नियोजित फन्दा भएको छ। कतिले कलिला युवतीहरूलाई पत्नीको रूपमा उपयोग गर्न मात्र विवाहको नाटक रचे। यस्तो धोकामा पर्नेहरूले पतिका अनेक कृत्य सहेर, लुकाएर पनि धर पाएका छैनन्। न्याय पाउने आशा र जीविकाको चर्को समस्याबीच सन्तान हुर्काउन सङ्घर्ष गर्नुपरेको छ। बुटवलको गोलपार्कमा खुद्रा सामान बेच्ने शान्ता कँडेल माओवादीको अर्घाखाँची जिल्ला कमिटी र महिला कमिटी सचिव थिइन्। सन्धिखर्क, तुलसीपुर, कपिलवस्तु, पाल्पा, बल्कोट, पोखराथोक लगायतका आक्रमणमा सहभागी उनी आफ्नै कामरेडको गद्दारी र पार्टीको रवैयाबाट विरक्तिएर नाबालक छोरो च्याप्दै पार्टीमा निष्त्रि्कय हुन बाध्य भइन्।
छोराका साथ सुमित्रा सापकोटा। |
शान्ता भारतमा उपचार गराएर फर्कंदा बदलिइसकेका कामरेड पतिले छोडपत्र मागे। उनले मानिनन्, तर सरोजलाई त्यसले केही फरक पारेन, अर्की केटी लिएर हिँडे। आफूमाथि भएको अन्यायबारे पार्टीमा सुनुवाई नभएपछि शान्ताले बहकिएर अर्घाखाँची छाडिन्। गएको तीन वर्षदेखि उनी पार्टी सम्पर्कमा छैनन्, पार्टीले सरोजलाई स-सम्मान फर्काएर मगरात राज्य कमिटीमा राख्यो। छोरालाई पढाउँदै र आफू पनि पढ्दै गरेकी शान्ताको अझै पनि पार्टीप्रतिको आस्था यथावत् छ। भन्छिन्, “१० वर्ष ज्यान दिएको पार्टीलाई आवश्यक पर्यो भने फेरि पनि लड्न तयार छु।”
(क्रान्तिकारी पत्रकार संघ सम्बद्ध पत्रकार रायमाझी एमाओवादीको केन्द्रीय प्रचार ब्यूरो राज्यसमिति सदस्य हुन्।)
गजुरेल परिवारको अत्याचार
सुनिता पोखरेल
एनेकपा (माओवादी)का केन्द्रीय सचिव सीपी गजुरेल (गौरव)की छोरी प्रभाबाट आएको प्रस्तावमा पटक-पटकको पारिवारिक छलफलबाट कुरा मिलेपछि म कान्छी बुहारी बनेर त्यो परिवारमा भित्रिएँ। बिहेलगत्तै ससुरा र सासू कल्याणी दिल्ली जानुभयो। फर्केपछि सासूले दाइजोको कुरासँगै स-साना निहुँमा गाली गर्न थाल्नुभयो। तर, सञ्जीवले ममीको कुरामा चित्त नदुखाउनु, म छु भन्दै आडभरोसा दिएकाले ढुक्क थिएँ।
विवाहको एक महिनापछि सञ्जीव र म माइती गएर फर्कियौं। मैले रितअनुसार कोसेली राखेर सासू-ससुरालाई ढोगेँ। यसले मेरो हीराजस्तो छोरालाई कस्तो पारी भन्दै सासू र्झ्कनुभयो। खान बसेको बेला उहाँले यसले ल्याएको गाग्री पनि चुहिने रछ भन्दा ससुरा सीपी गजुरेलले ए, गाग्रीसमेत चुहिने रछ! भन्दै सही थाप्नुभयो। दिनहरू बित्दै गए। म बिहान घरको काम गरेर अफिस जान्थेँ, बेलुका काम सकेरै सुत्थेँ। सासू तँ आफ्नो व्यवस्था गर मात्र भनिरहनुहुन्थ्यो, ससुराले यस्तो तनावपूर्ण वातावरणमा हस्तक्षेप गरेर मिलाइदिए हुन्थ्यो भन्ने लाग्थ्यो।
म गर्भवती भएकी थाहा पाउँदा सञ्जीवले बच्चा फाल्ने प्रस्ताव राखे। म बोल्नै सकिनँ, घरमा, अफिसमा जतिबेला पनि रोइरहेँ। म त्यो बच्चा जसरी पनि जन्माउन चाहने, उनी फाल्न। माइती गएर जन्माउँ कि जस्तो लाग्यो, तर सञ्जीवको असहमतिमा हिम्मत आएन। म उनको चित्त पनि नदुखोस्, बच्चा पनि जोगियोस् भन्ने कोशिशमा थिएँ। आखिर एकदिन अस्पताल हिँड्न भने, उनीसँग धेरै रोएँ। तर, कठोर हुँदै हेर सुनिता, अहिले घरमा पनि बबाल छ, मलाई साथ देऊ भनेर बाध्य पारे।
बच्चा फालेपछि सञ्जीवले सँगै बस्न नसक्ने घोषणा गरे। सासूले तँ पढेलेखेकी छेस्, जति पनि केटा पाउँछेस् भन्नुभयो। गर्भपतनका कारण कमजोर भएका बेला खान दिन समेत छाडियोे, धेरैपटक खानै नपाएर तड्पेँ। सासूले मेरो कोठाको खाट हटाइदिनुभयो। एक दिन क-कसको पेट बोकेर यहाँ फालेकी र... भन्दै थुक्नुभयो। मैले पकाएको कसैले नखाने भएपछि एक्लै खाएर अफिस जान सक्दिनथेँ, भोकभोकै हिँड्थेँ। बेलुका कोठामा एक्लै बस्थेँ। कहिलेकाहीँ सासूले अलिकति भात फाली दिँदै तेरो स्वाभिमान छैन? कुकुरलाई जस्तो गर्दा पनि बसिराख्छेस् भन्नुहुन्थ्यो। म भने सञ्जीवलाई धेरै नै माया गर्थें।
म युरोप जानुभएको ससुराको ठूलो प्रतीक्षामा थिएँ। उहाँ आएको भोलिपल्टै हजुरले ममी, सञ्जीव र मलाई राखेर कुरा गरिस्यो भन्दा उहाँले भन्नुभयो, “मैले कान्छो छोरोको बिहे रहरले नै गरेको हुँ, तर कसै कसैको वैज्ञानिक कारणबाटै यस्तो हुन्छ। अब तिमीहरूले आ-आफ्नो भविष्य सोच्नुपर्छ। नेपालमा सुजाता कोइराला जस्ता महिला पनि छन्।” म बुबा, ससुरा जे भने पनि हजुर नै हो भन्दै रोएँ। उहाँले सबैथोक विस्तारै परिवर्तन हुँदै जान्छ भन्नुभयो।
माइतीबाट काठको छेस्कोसम्म नल्याएकी भन्दै सासूको दुर्व्यवहार झ्न्झ्न् बढ्यो। विवाह छिन्नुअघि दाइजोको कुरा गर्न गएका मेरा आफन्त दाजुहरूसँग फर्निचर (दुनियाँले देख्ने)बाहेकका चिज गच्छेअनुसार दिँदा फरक नपर्ने भनिएकाले मेरा किसान बाबुआमाले सकेजति ब्याङ्क व्यालेन्स र सुन लगायतको व्यवस्था गरिदिनुभएको थियो। मैले लगाएका गरगहना बिहेको केही समयपछि नै सासूले लिनुभयो, र पनि ममाथि कुनै दयामाया गरिएन।
एक दिन ससुराले सञ्जीव स्टाफ भएको तर म पनि घरमा बस्दा पार्टीमा अप्ठ्यारो परेको बताउनुभयो। अर्को दिन प्रभा दिदीको टोलमा कोठा खोजिएछ, तर मैले जान मानिनँ। एक बिहान म नुहाएर निस्कँदा मेरो सामान गाडीमा हाल्न ठिक्क पारिएको रहेछ। मैले सञ्जीवको पनि सामान हाल्न जिद्दी गरेँ। उनले मेरो लुगा खुम्च्याएर राख्न मिल्दैन, दराज किन अनि लगौंला भने। यसरी मलाई पन्छाइएको कोठामा तीन-चार दिनपछि नै सञ्जीव आउन छाडे।
एक बिहान घर जाँदा सबैले देखेर पनि ढोका खोलेनन्। धेरै बेरमा दूध लिन सञ्जीव तल र्झ्दा सासूले ढोका खोलेर तुरुन्तै बन्द गर्नुभयो। सञ्जीवको लागि ढोका खुल्दा म पनि पसेँ। तर, अर्काको घरमा केको जबरजस्ती हो, यो? भन्दै ससुरा जङ्गिनुभएपछि सासूले मेरो कपाल समाएर बाहिर निकाल्नुभयो। म ढोका बाहिर धेरैबेर रोएर फर्किएँ। त्यसपछि सञ्जीवले कोठामा आएर वाईसीएलका आईमाईहरू ल्याएर ठिक पार्न नपरोस् भनी थर्काए।
सासू-ससुरा युरोप गएको र सञ्जीव कुनै केटीसँग बसेको सुनेर १२ कात्तिक २०६४ मा अफिसबाट सीधै घर पुग्दा उनी कम्प्युटर चलाइरहेका रहेछन्, मलाई देख्नासाथ कपालमा समातेर बाहिर निकाल्न खोजे। प्रतिवाद गर्दा बेस्सरी पिटे। भोलिपल्ट न्यायका लागि पार्टी केन्द्रीय कार्यालयमा निवेदन लेखेर छाडेँ। त्यसको तीन महिनापछि पुसमा पार्टीले बुद्धनगर कार्यालयमा बोलाएर मिल्न सल्लाह दियो, तर वैशाखतिर सञ्जीवले सम्बन्धबिच्छेदको प्रक्रिया थाले। पत्रकारहरू मकहाँ पनि आइपुगे। सम्बन्धबिच्छेदको कुराबाट म हतास थिएँ, मिडियासँग कुरा गर्दा झ्नै बिग्रेला भन्ने डरले बोलिनँ।
उपाय खोज्दै माइती नेपाल पुगेँ। म सञ्जीवबाट अलग हुनु नपर्ने तरिकाको खोजीमा थिएँ, तर माइती नेपालका वकिलहरूले अंश मुद्दा हाल्ने सल्लाह दिएकाले पछाडि हटेँ। यस बीचमा न्यायको अपील गर्दै प्रतिष्ठित व्यक्ति र संघ-संस्था गरेर ४६ ठाउँमा पुगेछु। तर, पार नलागेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेँ, न्यायाधीशसमक्ष परिवारलेे अन्याय गरे पनि सञ्जीवबाट अलग नपारियोस् भनेर धेरै चोटि रोएँ। तर, काठमाडौं जिल्ला अदालतबाट गजुरेल परिवारकै पक्षमा फैसला आएपछि पुनरावेदन अदालत पाटन पुगेँ।
यही बीचमा सञ्जीवले पहिलेकी केटीले अर्काको पेट बोकेर आएकीले सम्बन्धबिच्छेद गरेको भनी ६ असार २०६७ मा सिनामङ्गल बस्ने रौतहट जङ्गलसैयाका रामहरि थापाकी छोरी सपनासँग प्रशस्त दाइजोका साथ विवाह गरेको सुनी व्याकुल भएर सीपी गजुरेललाई तीनपटक फोन गर्दा तीनै पटक काटी दिनुभयो। त्यसपछि मलाई यो स्तरका मानिसहरूबाट मानवजातिले केही पाउने छैन भन्ने लागेर २ वैशाख २०६८ मा छोडपत्रमा सही गरिदिएँ। त्यो सहमति दिँदा मलाई न उनीहरूबाट अंश चाहियो, न कुनै पैसा। अब मेरो आफ्नो जिन्दगी छ, गजुरेल परिवारलाई मेरो भन्नु केही छैन।
मुखले क्रान्ति भनेर के गर्नु !
सेक्सन कमाण्डर खिमा डाँगी (नमुना)
आफ्नो स्वार्थ पूरा भएपछि हिजो विवाह नगरे आत्महत्या गर्छु भन्ने कामरेडले छोडपत्र नगरे आत्महत्या गर्ने बताउन थाले। तर, पुरुषलाई जति सजिलो हुँदो रहेनछ महिलालाई परिवार भत्काउन। दाम्पत्य जीवनसँग प्रेम मात्र होइन छोराछोरी, समाज र भविष्य समेत जोडिने हुनाले मैले सबै यातना सहेर पनि सम्बन्ध टुटाउन चाहिनँ। त्यसमाथि म शारीरिक रूपमा पनि पतिको सहारा चाहिने अवस्थामा थिएँ। ३ कात्तिक २०६२ मा रुकुमको सिंगजेमा सुरक्षाकर्मीको घेराबाट भाग्दा लडेर पूरै बाहिर निस्केको पाठेघर आफ्नै हातले बलपूर्वक भित्र ठेली भाग्दै ज्यान बचाएको घटनालाई म पतिको साथबाट बिर्सन चाहन्थें। तर, मैले साथको साटो यातना पाएँ।
प्रमाणीकरणपछि कामरेड विजय बटालियन कमाण्डर भए, म सेक्सन कमाण्डर। उनको मन फिर्छ कि भन्ने आशले रोल्पाकै शिविरमा बस्न चाहेँ, तर उनले छोडपत्रमा सही नगरे अब जे पनि हुनसक्ने धम्की दिन थाले। सबैले किन नविनालाई छाड्न खोजेको भनेर सोध्दा ऊ बोक्सी हो, मेरो सबै कपाल पनि खाईदी सकी भनेको पनि सहनु पर्यो। रोल्पा नमुना अस्पतालका त्यतिबेलाका इन्चार्ज लगायतका स्वाथ्यकर्मीहरूकै सामु पनि ममाथि उनले बोक्सीको आरोप लगाए।
अन्ततः २०६५ माघ १८ मा मैले सन्तोष बुढामगर विषम, हेमन्तप्रकाश ली सुदर्शन लगायतका नेताका सामु छोडपत्रमा मन्जुरी गरिदिएँ। मैले ल्याप्चे नलगाइदिएकाले मात्र कुरा रोकिएको रहेछ, विजय ले सीमा घर्ती मगरसँग विवाह गरिहाले। त्यसपछि म दाङको सङ्क्राम शिविरमा सरेँ। सात वर्षकी छोरीलाई पढाइका लागि माइतमा राखेकी छु। यही वर्ष मैले ७५.५७ प्रतिशत अङ्कका साथ एसएलसी पनि पास गरेँ। घरमा सबैले स्टाफ नर्स पढ भनिरहेका छन्। सेनामा रहेकाले पार्टीको कुरा पनि सुन्नुपर्ने हुन्छ। पुनर्स्थापनामा जाँदा पाइने रकमबाट मेरो भविष्य निर्धारण हुनेछ।
मुखले क्रान्ति भनेर के गर्नु, पार्टीमा विजय जस्ता पुरुष धेरै छन्। पूरै समाज पुरुषप्रधान भएकाले म जस्ताको आवाज दबिएको छ। www.himalkhabar.com 16/32/068 and 2011/30 june 16 july 2011