जनजातिलाई अधिकार दिँदा बाहुन क्षेत्री किन तर्सिने ?
मैले उनैलाइ जिज्ञासा राखें ‘ए जातिय राज्य भन्न खोजेको मन नपरेका अरु जात, जाति, भाषा भाषीलाइ लघार्ने भनिएको हो र?’
‘यी जनजातिले बाहुन क्षेत्रीलाई मात्रै गाली गर्छन्, त्यसैले जातिय
राज्य भयो भने बाहुन क्षेत्रीलाइ लघार्छन् ति धेरै भएको ठाउँबाट’ उनको
त्रास थियो । यो त्रास उनमा मात्रै होइन । धेरै बाहुन र क्षेत्रीमा देखिन्छ
। तर म भन्छु, जनजाति, मधेशी, पिडित, हेपिएका थिचिएकालाई अधिकार सम्पन्न
बनाउँदा अत्याचारी बाहुन क्षेत्रीका अधिकार काटिएलान् । नत्र असल, समान
अधिकारका पक्षधर बाहुन क्षेत्रीलाई असर पर्ने होइन । बरु अझ भलो हुन्छ ।
पुरानै कुरा के दोहोर्याउँ जुन मैले उठाइसकेको छु, नेपालको अहिले
सम्मको शासन ब्यवस्था, राज्य प्रणाली असफल भयो । र अहिले सम्मको राज्य
प्रणाली, शासकिय संरचना बनाउने को थियो ? बाहुन क्षेत्री । अर्थात
बाहुनवादी सोच । अर्थात बाहुन र क्षेत्रीबाट रचिएको ब्यवस्था भन्नपनि
सकिएला । अहिले सम्मको शासन प्रणालीमा नेपालमा जातिय बिभेद रह्यो । छुवाछुत
रह्यो । चितवन जस्तो देशकै सबैभन्दा शिक्षित र बिकसित मानिने जिल्लामै
बोक्सीका नाममा मान्छे मारिए । जात जातिमा बिभेद, संस्क्रितिमा बिभेद ।
भेषभुषामा बिभेद । अवशरमा बिभेद । भौगोलिक बिभेद, क्षेत्रिय बिभेद । बिभेदै
बिभेद । त्यसैले बाहुन क्षेत्रीले निर्देशन गर्दै आएको अहिले सम्मको
हाम्रो शासन प्रणाली असफल भयो ।
केहि साथीहरु प्रश्न गर्छन्, छुवा छुत बिभेद अछुत भनिनेहरुमै बढि छ ।
जनजातिमैपनि छ । हो छ । त्यसैले त भनिएको हो, अहिले सम्मको हाम्रो राज्य
प्रणालीले जात जातमा, बर्ग बर्गमा यस्तो बिभेद गरायो । अर्थात त्यसलाई समान
बनाउन सकेन र त यो असफल भयो भनिएको हो । आखिर जुन जात, वर्ग, जनजातिमा
रहेपनि त्यसको दोषी त अहिले सम्मकै शासन प्रणाली न हो ।
किनभने अहिलेसम्मको हाम्रो राज्य प्रणाली, संरचनाको परिणाम हो,
दलितहरुलाई घरको आँगनको डिलबाट उपल्लो जात भनिनेका आँगनमापनि टेक्न बन्देज
। पसलमा चिया खाएर गिलास पखाल्नु पर्ने सम्मको बिभेद । पानी चल्नेका घरमा
बासै नपाइने बिभेद । त्यसैले दलित उत्पिडितहरुले आफ्नो राज्यमा सहभागिता र
अवशर खोजे । पहिरन र अनुहार मिलेकै भरमा धोती, मधिशी, भारतीय भनेर हेपिएका
मधेशीहरुले यो मुलुकमा समानता खोजे ।
जनजातिहरुका आफ्नै थात थलोमा कुन चाड आयो गयो पत्तो भएन । न भाषाको
संवर्धन भो । न संस्क्रितिको पहिचान गर्यो राज्यले । २० जना बाहुनको
वस्तिमा दशैं बिदा हुने । तीजको बिदा पाइने । तर दशौं हजार जनजाति बसेको
(उदाहरणकालागि भन्नु पर्दा पूर्वमा राइ, लिम्बूको पश्चिममा मगर वा हिमालमा
शेर्पाको बस्ति भनौं न) मा साकेला पर्व कहिले आयो र कहिले गयो राज्यले
पत्तो सम्म नपाउने । तिनले जबर्जस्ति स्कूलमा संस्क्रित र नेपाली भाषा
घोक्नु पर्ने । तर लिम्बु भाषाको लिपिसमेत चिन्न नपाउने । एक जनापनि खस
नभएको ठाउँमा सरकारी काममा जनजातिले कनी कनी पनि खस भाषा बोल्नै पर्ने । तर
ति खसहरुले भने अरु भाषा कहिँ कहिल्यै सिक्नै नपर्ने । पूर्वमा
लिम्बुवानका नानीहरुले काठमाडौंका जयस्थिति मल्लको ईतिहास घोक्नु पर्ने तर
लिम्बुवानका ऐतिहासिक पुरुषबारे सुन्नै नपाउने । हो यहि बिभेद रहेकाले
आफ्नो पहिचान र पहुँच खोजे । यति अधिकार खोज्दा कहाँनेर बाहुन र क्षेत्रीको
अधिकार काटिन्छ ? यति अधिकार दिँदा र तिनले लिँदा कसरि बाहुन क्षेत्रीमाथि
हमला हुन्छ ? ए बाबा हाम्रो अधिकार काटेर दिने भनेको हो र ? तिनलाईपनि
अधिकार सम्पन्न बनाउने, समान ब्यवहार र अवशर दिने भनेको पो हो त ।
हो बाहुन क्षेत्री डराउनुपर्ने एउटा कारण छ । घटना २०१७ को लिउँ । धादिङ
जिल्लामा चेपाङहरुले बाहुन खेदे । किन भने चेपाङ र तामाङका बारीका साँधमा
लगेर फर्सी रोप्ने । त्यो लहरा जहाँसम्म पुग्छ मेरो जग्गा भनेर हडप्ने ।
कुखुराको चल्लो जसको घरमा किन्यो उसैलाइ पाल्न दिने । चाड पर्वमा काटेर खान
उकास्ने । अप्ठेरो पर्दा माग्न जाँने ‘मेरो भाले ले’ भन्दै । दिन नसक्दा
त्यहि घरबाट भैंसीको पाडी लिने । त्यहिँ पाल्न दिने । हुँदा हुँदा कुखुरोको
चल्लाबाट भैंसीको पाडी र लैनो भैंसी गर्दा गर्दै घरखेतै लिने । तामाङ र
चेपाङका छोरी नभन्ने । बिटुलाउने । बुहारी देख्न नहुने । तिनका मेहनति
हातले बुनेका ठेकी र मदानी, घुम र भकारी सित्तिमा ओसार्ने । भनेको नटेरे
सिडियो र पुलिस लाउँछु भनेर तर्साउने । लुट्ने र ठग्ने गरेर धादिङमा
जनजातिका आदिबासी बस्तिमै सुकुम्बासी बनाए बाहुनले । अत्याचारको सिमा
नाघ्यो । अनि एकदिन तिनले बाहुन लघार्ने अन्दोलन छेडे । बास अबपनि बाहुन
क्षेत्रीले यसै गर्ने मनशाय राखे जातिय राज्यमा बस्न डराउनु पर्छ । अर्काका
छोरी चेली नभन्ने । आफ्ना छोरी बुहारीलाइ घरबाट निस्केर पँधेरामापनि जान
नदिने । जनजातिका छोरी चेली देख्यो कि पाखुरा समातेर लतारिहाल्ने उहि
पुरानो मानशिकता पालिराखे बाहुन क्षेत्री डराउनुपर्छ । ठूलो भकारी देख्नै
नहुने, हुर्केको खसी देख्नै नहुने हो भने त्यस्ता बाहुन क्षेत्री तर्सिनु
पर्छ । तिनलाई गोर्खे लौरी लगाउँछन् । त्यस्तालाई कारवाही गर्ने कानुन अब
स्थानिय स्तरमै, जातिय राज्यमै हुन्छ । केन्द्रिय एकात्मकबादी राज्यको मुख
ताकेर बस्नु पर्दैन । सिडियो र भ्रस्ट नेताको निर्देशन कुर्नु पर्दैन ।
त्यसैले केहि बाहुनहरु जनजातिले अधिकार पाउने भो, स्थानिय स्तर बलियो हुने
भो भनेर तर्सेका हुन् ।
साँच्चै बाहुन क्षेत्रीलाइ छिनाउने, लघार्ने नै मनशाय राखे जनजातिले भने
जातिय अधिकारकै लागि कुरेर बस्नु पर्छ ? बागलुङका छन्त्यालले त्यहाँका
बाहुनलाई लघार्न सक्दैनन् ? रोल्पाका मगरले त्यहाँका बाहुन क्षेत्रीलाई
अहिलेनै छप्काउन सक्दैनन् ? पूर्वका राइ लिम्बु झापा सम्म ओर्लेर काटमार
मच्चाउँदै, बाहुन क्षेत्रीका घर घर पसेर मुन्ट्याउँदै निकाल्न सक्दैनन् ?
के त्यसो गरेका छन् ? बरु अत्याचार नगर्ने बाहुन क्षेत्रीलाई आँखामा
साँच्छन् जनजातिले । तिम्रा हाम्रा भाषा फरक, चाड फरक भए तर सम्मान गर्छौं
भन्ने बाहुन क्षेत्रीलाई जनजातिले अँगालोमा राख्छन् । तिनको भाषा, तिनको
पहिचान, तिनको संस्क्रितिलाई आदर गर्ने बाहुन क्षेत्रीलाइ तिनले पूजा
गर्छन् । आत्मैमा राख्छन् । बाहुन क्षेत्रीहरुपनि हाम्रै दाजुभाइ हुन् ।
हाम्रो ईज्जत गर्छन् । हाम्रो भावना बुझ्छन् । तिनले खराब बाहुन क्षेत्रीको
अन्धभक्त समर्थन गर्दैनन् । खराबलाई खराब भन्छन् । सत्यलाई सत्य । समान
अधिकारकालागि आवाज उठाउँछन् । ति सबै जात जाति, भाषा भाषी मुस्कुराएको
हेर्न चाहन्छन् भन्ने जनजातिलाई महसुस हुनु पर्छ । साँच्चिकै तिनले आफ्नो
प्राण फालेर पनि बाहुन क्षेत्रीकालागि दिन्छन् । जनजातिमा उदारता, त्याग र
सानो कुरोमा पनि फुरुंग हुने स्वभाव हुन्छ । ति सानो कुरोमापनि अति
क्रितज्ञ बन्छन् ।
जनजातिले यो मुलुकमा दबिएको, हेपिएको, पाखा लगाएको, टाढिएको, एक्लो
पारेको महसुस गर्नु राम्रो होइन । अहिले भएको त्यहि हो । नेपाल यतिबिघ्न
पछाडी छ सामाजिक, आर्थिक, संस्क्रितिक विकासमा अरु मुलुकभन्दा । यस्तो देखि
देखिपनि अझै यस्तै राज्य प्रणाली अपनाउन खोज्नु मूर्खाता कि त अबुझपना नै
हो ।
बाहुन क्षेत्रीले एक मिनेट आँखा चिम्म गरेर सोचुन्, दशैं तिहारलाइ
राज्यले पहिचान गरिदिएन र खस भाषा बोल्न पाएनन् भने कस्तो महसुस हुन्छ । हो
त्यहि पीडा जनजातिमा पनि छ भनेर बुझिदिउन् । जनजातिको अधिकार र पहिचान
कानुनत: सुनिश्चित भो भने तिनले आफ्नो पहिचान ब्यवहारमा कसरि स्थापित गर्ने
संवेदनशिल बन्छन् । र बाहुन क्षेत्रीलेनै भन्न पाउने छन् ‘जातिय अधिकार
पाएँ भने के के न गर्छु भन्थ्यौ, खै त तिमेरुले सारक्षरता बढाउन सकेनौ । खै
त तिम्रो गाउँ झिलिमिली भएन । खै त सामाजिक न्याय स्थापित गरेनौ ।
राजस्वपनि त उहि हो। पुराना राजा गएर फेरे जनजातिकै राज ल्यायौ त जनजातिका
नाममा जनजातिलाइ चुस्ने । अछुत भनेर तिम्रो राज्यमापनि हेपिएकै छन् त’। यो
साँच्चिकै अवशर हो सबैकालागि । जनजातिका लागि परिक्षण । त्यो चुनौतीका
रुपमा पनि उनीहरुकै थाप्लोमा छोड्न पाउनु अवशर हो राज्यकालागि । बाहुन
क्षेत्रीहरु यो मुलुकमा बढि शिक्षित रहेकाले पनि यो भावना बुझ्ने बाहुन
क्षेत्रीकै जिम्मेवारी बढि छ । त्यसैले जनजातिलाइ अधिकार दिँदा हामी बाहुन
क्षेत्रीलाई फाइदै फाइदा छ । अझ बढि सम्मानित र आदर पाइन्छ । झन तर्सिनु
पर्ने त कुनै कारण नै छैन ।
भौगोलिक रुपमा भन्दा मान्छेको आत्मिय एकता हुनु हितकर हुन्छ । अहिले
जनजातिका मन भाँचिएका छन् । दलित र उत्पिडितका आत्मा रोएका छन् ।
मधेशीहरुका ह्रिदयले समान भएको अनुभव गर्न पाएका छैनन् । ति दुखि मनहरुलाई,
चिरिएका आत्माहरुलाई प्रफुल्ल बनाएर एकताको सुत्रमा बाँध्ने अवशर हो यो ।
जब आत्माहरु मिल्छन्, एक हुन्छन् तब भौगोलिक रुपमा त्यो मुलुक छिन्न भिन्न
पार्न कुनै तत्वलेपनि सक्दैन । तर जब आत्मनै छिन्न भिन्न बनाएर राखियो भने
देश भौगोलिक रुपमा एक भएपनि त्यो एक हुन सक्दैन, हितकर हुँदैन । बरु त्यसले
सामाजिक, आर्थिक, सांस्क्रितिक र भौगोलिक बिखण्डन निम्त्याउँछ । यसलाइ जति
छिटो बुझ्यो उति सबैको हितमा छ । मेरो टड्कारो विश्वास यहि हो । कसैलाई यो
बाहुन क्षेत्री बिरोधी लागोस्, जनजातिमुखि लागोस्, बिखन्डनबादी लागोस्
हाँसेर स्विकार्न तयार छु । तर म फेरीपनि भन्छु, जनजातिलाइ अधिकार दिंदा
बाहुन क्षेत्री डराउनु पर्दैन ।
No comments:
Post a Comment