प्रत्यक ब्यक्तिको शिक्षा र ज्ञान बिशुद्ध निजी सम्पत्तिहो जसलाई सहजरुपमा जहाँतही बोकेर साथै लानसक्छौ तर भौतिक सम्पत्तिको यो सम्भब छैन ।



Monday, October 11, 2010

बुद्धको देशमा बलि !

नेपाललाई शान्तिको प्रतीक, अहिँसाका पुजारी बुद्ध जन्मेको देश भनेर सारा दुनियाँले चिन्दछ तर विडम्बना अहिले पनि यसै देशमा बुद्ध जन्मेको दिन अर्थात वैशाख पूणिर्माको दिन सिराहा जिल्लाको राजदेवी, पञ्चावती आदि केही मन्दिरमा हजारौँ पशुपंक्षीको बलि दिने गरिएको छ । त्यस्तै नवरात्रमा अन्य देवीस्थल एवं शक्तिपीठहरूमा पनि त्यति नै बढी बलिदान दिइने परम्परा छ । यस्तो परम्परा कहिलेदेखि र किन चल्यो त्यसको खोजी नीति आवश्यक देखिएकोले यहाँ यसैबारे केही जानकारी प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
आजको युग भनेको अनपढ, अन्धविश्वासी र जङ्गली युग होइन । समाजले प्रत्येक विषयमा प्रयोगशालाबाट प्रमाणित भएको कुरालाई मात्र विश्वास र मान्यता दिने गर्दछ । अतः धर्मका नाममा समाजमा चलिआएका कुरीतिलाई पनि समय सापेक्ष परिवर्तन गर्नुपर्ने हुन्छ । होइन धर्मका नाममा कुरीति र कुसंस्कारलाई मान्यता दिँदै जाने हो भने नेपाल र नेपालीको पहिचान कहिलेसम्म खोजिरहने ? यस विषयमा सबैले सोच्नुपर्ने समय आइसकेको छ । नेपालको भावी संविधानमा बलि प्रथाका विषयमा स्पष्ट किटान हुन जरुरी छ । बुद्ध जन्मेको दिनलाई हिँसा काटमारदेखि अलग राख्नु पर्छ । जसरी बुद्धले सबै प्राणीलाई रक्षा गर्नुपर्ने सिद्धान्त विश्वलाई सिकाएका छन् त्यसरी नै नेपाल राष्ट्रले पनि सके सधैँ नभए कम्तीमा बुद्ध जन्मेको दिनलाई पशुपंक्षीको हिँसाबाट अलग बनाउन कदम चाल्नुपर्दछ ।
सार्वजनिक स्थल र मन्दिरमा दिइने बलिबाट हुने हानि नोक्सानी पनि धेरै नै छ । यसका लागि मोटामोटी निम्नानुसार केलाउन सकिन्छ । सार्वजनिक स्थल र मन्दिरमा बलि दिइँदा नेपाल अविकसित र अशिक्षित राष्ट्रकारूपमा परिचित भइरहेको छ ।
नेपालमा देवीहरूलाई बलिदिने प्रक्रियाका साथै भीमसेनलाई दिइने राँगोको बलिका दृश्य हेर्ने हो भने असभ्यताको पहिचान दिइरहेको छ । अझ गढीमाई मेलाका घटनाका दृश्यले त झन् विश्वसामु असभ्य नागरिक बसोबास गर्ने देशका रूपमा चिनारी दिएको छ । विश्व जगत् सम्पूर्ण प्राणीको साझा घर हो । सबैलाई बाच्न पाउने समान अधिकार छ । मानवजाति प्रकृतिको सर्वश्रेष्ठ प्राणी हो । जो निरीह, सोझो छ । त्यसको सुरक्षा गर्नु मानवको दायित्व हो । सानो डोरीको त्यान्द्रोमा चार क्विन्टलको प्राणी अल्झेर बस्छ र उसले आफू बन्धनमा भएको महसुस गर्छ भने त्यसको भोलापनलाई फाइदा उठाएर उसैमाथि हतियार उठाउनु कहाँको न्याय हो ?
भाकल वा धर्मको नाममा वा मनोकामना पूर्णहोस् भनेर पनि बलि दिइने परम्परा छ । यसको उदाहरण पनि गढीमाई मेलालाई लिन सकिन्छ । गढीमाई मेलाको समीक्षा गर्दा त्यस्ता दृश्यसमेत देखिए तान्त्रिकले आफ्नो तन्त्रविद्या सिद्ध गर्न पञ्चबलि आदि दिइएको पाइयो भने एकजना भारतको सीतामढी घर भएका मित्रले आफ्नो छोरा पाएको खुशीयालीमा गढीमाईलाई खुशी पार्न १०५ वटा राँगा बलिसमेत दिए । यस्ता हजाराँै इच्छा पूरा भएका व्यक्तिको सङ्गम हो गढीमाई मेला । के साच्चै नै गढीमाईले राँगा, बोका खान भक्तजनलाई उनको इच्छा पुर्‍याउन बरदान दिएकी हुन् त के माई भनेको आमा होइन ? आमाले छोराछोरीका रगत पिउछिन् ? यदि रगत पिउछिन् भने ती आमा हुन सक्दिनन् । अतः आमाका नाममा निरीह प्राणीको हत्या हिँसा गरेर धर्म हुँदैन । मेरो भाकल पूरा गर्नु छ भने मैले नै बलि दिइनु पर्दछ । मैले समर्पण गर्नु पर्छ । मैले एसएलसी पास गर्न मैले नै परीक्षा दिनुपर्छ नत्र कारबाहीमा परिन्छ । यस्तै मेरो भाकल पूरा गर्न मैले नै समर्पण गर्नुपर्छ न कि राँगा, भंैसी, कुखुरा, खसीको समर्पणले हुन्छ ।
धार्मिक पर्यटनको हिसाबले नेपाल विश्वमा नै परिचित छ । विभिन्न देशबाट धार्मिक क्षेत्रको भ्रमणका लागि पर्यटक आउने गर्दछन् तर विभिन्न देवीका मन्दिरमा बलि दिइने प्रथाले नेपाल आउने धार्मिक पर्यटक देवस्थलमा फोहोर र दुर्गन्धका कारण एकपटक आएका पर्यटक फेरि नर्फकने गरेकाले नेपालको पर्यटन आयमा समेत असर परेको छ ।
अतः जसरी समयको मागअनुसार नेपालमा प्रचलित सतीप्रथा, दासप्रथा उन्मूलन भए त्यसैगरी धार्मिक संस्कारको कुरीतिको रूपमा रहेको बलिप्रथा पनि सदाका लागि अन्त्य गरिनु पर्छ ।

No comments:

Post a Comment