९
साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका एकमात्र जीवित संस्थापक नेता
नरबहादुर कर्माचार्यको बुधबार एकाबिहानै अस्पतालमा निधन भयो । उहाँको निधन
भएलगत्तै अनलाइन र विद्युत्तीय सञ्चारमाध्यमले प्राथमिकताका साथ खबर
सम्प्रेषण गर्न थाले । तर कर्माचार्यको जन्म ठ्याक्कै कहिले भएको हो भन्ने
कुरा पत्ता लगाउन अप्ठेरो भयो ।
निकैबेरपछि मात्र एमाओवादीका अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्डको विज्ञप्ती आयो । जहाँ कर्माचार्यको जन्मसाल,
महिना र गते स्पष्ट थियो । कर्माचार्यको जन्म वि.सं १९८१ कार्तिक १४ गते
भाइटीकाका दिन बुबा चन्द्रबहादुर कर्माचार्य र आमा कुमारी कर्माचार्यको
कोखबाट भएको थियो । उहाँका एक भाइ लक्ष्मण कर्माचार्य र एक बहिनी कमला
कर्माचार्य हुनुहुन्छ । सानीआमाका तर्फबाट भाइहरु मुकुन्द कर्माचार्य,
तेजबहादुर कर्माचार्य, हरि कर्माचार्य र बहिनी गीता श्रेष्ठ हुनुहुन्छ ।
कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा
पहिले उहाँ २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणा बिरोधी आन्दोलन
र मजदुर आन्दोलनमा सक्रिय हुने क्रममा जेल पर्नुका साथै निर्वासन हुनुभएको
थियो । उहाँहरु त्यतिखेरको प्रतिकूल परिस्थितिमा पनि विभिन्न सार्वजनिक
स्थलहरुमा जागरणमुखी गीतहरु गाएर राणा बिरोधी अभियानमा जनतालाई सक्रिय
बनाउन सहभागी हुनुभयो । त्यसैक्रममा राष्ट्रिय काँग्रेसका नेताहरुलाई
मिलाउन भूमिका पनि खेल्नुभयो । उनीहरुबाट देश र जनताको पक्षमा केही नहुने
रहेछ भन्ने निश्कर्षमा पुगेर अर्को क्रान्तिकारी पार्टी निर्माणमा
लाग्नुभयो । अर्को क्रान्तिकारी पार्टी निर्माणमा लाग्न १९४९ को चिनियाँ
क्रान्ति र भारतको तेलङ्गाना किसान बिद्रोहले उहाँलाई प्रेरित गरेको थियो ।
क. पुष्पलालको नेतृत्वमा उहाँसहित नारायणविलास जोशी र निरञ्जन गोविन्द
बैद्य मिलेर १९४९ अपि्रल २२ मा कलकत्ताको बडा बजारमा नेपाल कम्युनिष्ट
पार्टीको स्थापना गर्नुभयो ।
कर्माचार्यको बारेमा प्रचण्डको शोक
वक्तव्यमा थप भनिएको छ-कम्युनिष्ट पार्टीको गठन पश्चात उहाँ मजदुर संगठनका
पनि संस्थापक अध्यक्ष हुनुभयो । उहाँ पार्टीले संचालन गरेका विभिन्न
राजनीतिक आन्दोलनहरुमा सक्रियतापूर्वक लाग्दै २०१६ सालमा ललितपुर
नगरपालिकाको मेयरमा चिर्वाचित भएर जिम्मेवारी सम्हाल्नु भयो ।
उहाँ २०१९ सालमा तेस्रो महाधिवेशनबाट
पार्टी केन्द्रीय सदस्यमा निर्वाचीत हुनुभयो । त्यसपछि पार्टी फुट र
विभाजनको श्रृंखला सुरु भएपछि उहाँ लगायत केही साथीहरु स्वतन्त्र भएर
कम्युनिष्ट आन्दोलनमा सक्रिय भईरहनुभयो । उहाँले विभाजित समुहहरुलाई एकीकृत
बनाउन निरन्तर पहल र प्रयत्न गरिरहनुभयो । यही क्रममा चौथो महाधिवेशनमा
एकतावद्ध भएर केन्द्रीय सदस्य हुनुभयो । एकता केन्द्र निर्माण हुँदा उहाँ
एकता केन्द्र तदर्थ समितिको अध्यक्षसमेत हुनुभएको थियो । नेपाल कम्युनिष्ट
पार्टीका संस्थापकहरु मध्ये लामो समय सार्वधिक सक्रिय क. कर्माचार्य पार्टी
र क्रान्तिकै हितलाई अघि बढाउने क्रममा आजीवन अविवाहित रहनुभयो । हाल उहाँ
एकीकृत नेपाल कम्युनिष्ट पार्टी -माओवादी)को संरक्षकको रुपमा रहनुभएको
थियो । जीवनको अन्तिम क्षणसम्म पनि उहाँ पार्टी, क्रान्ति र परिवर्तनको
निम्ति चिन्तित र सक्रिय भईरहनु भयो ।
No comments:
Post a Comment